नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्ते काम गरेकोमा आफूलाई दु:ख लागेको बताएका छन्।
प्रधानमन्त्रीका कदम असंवैधानिक, अराजनीतिक र कीर्ते रहेको थापाको भनाइ छ। उनले यो कुरा कांग्रेसले सरकारविरूद्ध शनिबार गरेको प्रदर्शनका क्रममा: ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अदालतदेखि संवैधानिक परिषदसम्म प्रधानमन्त्री ओलीले कीर्ते गरेको आरोप लगाएका छन्।
‘हामीले अदालतको बहस हेर्यौं। संवैधानिक परिषदमा कीर्ते भएको त हामीलाई थाह नै छ,’ उनले भने, ‘योसँगै प्रतिनिधि सभा विघटन गर्दा संविधानको धारा उल्लेख नै नगरी सिफारिस गरिएको रहेछ।’ प्रधानमन्त्री ओलीको काम देखेर आफूलाई दु:ख लागेको थापाको भनाइ थियो।
‘क्षमा गर्नुहोला प्रधानमन्त्रीजी, तपाईंको यो कीर्ते काम देखेपछि मैले भन्नुपर्ने भयो- तपाईंको नाम बदल्नुस्। के बाट खड्गप्रसाद ओली होइन, केपी ओली भनेको कीर्तेप्रसाद ओली भन्ने दिन आएको छ। मलाई दु:ख लागेको छ।’
उनले प्रधानमन्त्रीबाट यस्तो अपेक्षा भने नगरिएको बताए।
‘प्रधानमन्त्रीले यो तहको कीर्ते गर्छ? अदालत र राष्ट्रपति कार्यालयमा गएर?,’ उनले प्रश्न गरे।