काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालमा उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने अधिकार परिवर्तन भएको छ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेपाली कांग्रेसमा उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अख्तियारी पार्टी सभापति शेरबहादुर देउवाबाट विशेष महाधिवेशनमार्फत निर्वाचित सभापति गगनकुमार थापालाई प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै, रास्वपामा यसअघि उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिइएको हस्ताक्षरको अधिकार पार्टी सभापति रवि लामिछानेलाई फिर्ता गरिएको छ। यसअघि रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका कारण अख्तियारी डीपी अर्याललाई दिइएको थियो।
जसपा नेपालमा भने उम्मेदवार मनोनयनको आधिकारिक पत्रमा उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त दस्तखत चल्ने निर्णय भएको छ। यसअघि उपेन्द्र यादवलाई मात्र दिइएको अधिकार अब दुई नेतामा बाँडिएको हो। निर्वाचन आयोग उच्च स्रोतका अनुसार सम्बन्धित दलका केन्द्रीय समिति बैठकबाट भएका निर्णयका आधारमा आयोगमा पेश प्रस्तावलाई वैधानिक ठहर गर्दै हस्ताक्षर गर्ने पदाधिकारी परिवर्तन गरिएको हो।
आयोगले यसबारे देशभरका ७७ वटै निर्वाचन अधिकृतको कार्यालयलाई औपचारिक जानकारी गराइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १९ अनुसार अब ती दलका तर्फबाट उम्मेदवार मनोनयनसम्बन्धी सबै आधिकारिक कागजात परिवर्तित पदाधिकारीको दस्तखतबाट मात्रै मान्य हुने आयोगले स्पष्ट पारेको छ।
पुराना अख्तियारीका आधारमा बुझाइएका कागजात अमान्य हुने पनि आयोगले जनाएको छ। निर्वाचन प्रक्रियामा अन्योल नहोस् भन्ने उद्देश्यले आयोगले राजनीतिक दलहरूलाई विधि, विधान तथा आयोगका निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ।