Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

प्रचण्डको कार्यकर्ता भइसकेपछि माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैनः ओली

प्रचण्डको कार्यकर्ता भइसकेपछि माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैनः ओली

  • पौष ९, २०७७ बिहिवार
  • १०:०२:०९ बजे
  • 598
    SHARES
  • प्रचण्डको कार्यकर्ता भइसकेपछि माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैनः ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजन भएको स्वीकार गरेका छन्। बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सार्वजनिक रूपमा उनले एकीकरण सफल नभएको भन्दै दुई वटा पार्टी जति गरे पनि मिल्न नसकेको बताए।

    ‘प्रचण्डजी र मैले दुई वटा पार्टी एकता गरेका थियौं, दुई पार्टी मिलाएर लैजाने भनेका थियौँ, तर आज प्रचण्डजी र म मिलेनौं,’ उनले भने। केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि तल्लो तहमा केही पनि नभएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।

    ‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन । मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल। हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन्,’ उनले भने। प्रचण्ड- नेपाल समूह चुनावमा जान डराएको ओलीको आरोप थियो। ‘

    उहाँले ९९ मा पुगेको ठान्नु भयो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो। तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले अन्तर्वार्तामा भनेका छन्, ‘म धेरै बहस गर्न चाहन्नँ उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन? यति आत्तिनु भएको किन? चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो? जनतासँग यस्तो त्रास किन? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ।’

    उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा अझै पनि रहेको भन्दै प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने बताए। पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने र नसक्ने उनले बताए।

    ‘उहाँ (प्रचण्ड) ले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला। मैले पनि आफ्नो पार्टी लिएर जाने हो। हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होलान्। तर विभाजन भएको माधव नेपाल र झलनाथसँग होइन। प्रचण्डजीसँग हो’, उनले भने ।

    उनले प्रचण्डले पार्टी कार्यालयमा आफ्नो दाबी नगर्ने स्पष्ट पारे। ‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ। पेरिसडाँडाको सम्पत्तिमा म हकदावी गर्दिनँ,’ उनले भने। प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपाललेसमेत दाबी गर्न नमिल्ने उनले तर्क गरे।

    'उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ नि त। प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्‍यो नि’, ओलीले भने।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij