Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग

  • पौष २६, २०८२ शनिवार
  • १६:४८:५९ बजे
  • 108
    SHARES
  • रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति भंग भएको छ ।

    रास्वपाका नेता शिशिर खनालले यसअघि दुई पक्षबीच भएको सहमति अब कायम नरहेको जानकारी दिएका छन् । “उज्यालो नेपालसँग यसअघि भएको एकता भंग भएको छ । अब रास्वपा छुट्टै रूपमा अगाडि बढ्छ,” खनालले भने ।

    उज्यालो नेपाल पार्टीका एक नेताका अनुसार पार्टी, पद र जिम्मेवारी त्याग्न तयार हुँदासमेत रास्वपाले दबाबपूर्ण व्यवहार गरेपछि दुई पक्षबीचको वार्ता नकारात्मक बन्दै गएको थियो ।

    “पार्टी र पद सबै छोड्न तयार हुँदा पनि रास्वपाले पेलिरह्यो । समानुपातिक सूचीमा तलको तलै पारियो । सूची सच्यायौँ भनिए पनि ४ नम्बरलाई ५ र ५ नम्बरलाई ६ मा झार्ने काम मात्रै भयो,” ती नेताले भने, “केन्द्रीय सदस्यमा सुरुमा २१ जनाको सहभागिताको कुरा भयो, अहिले आएर १२ जनामा सीमित गर्न भनियो ।”

    उनका अनुसार उज्यालो नेपालले मन्त्री तथा प्रधानमन्त्री पदसमेत त्याग्ने सहमति जनाएको थियो । "महामन्त्रीको सट्टा सहमहामन्त्री दिए पनि स्वीकार गर्‍यौँ । तर, कुनै पनि दृष्टिकोणबाट उज्यालो नेपाललाई समेट्ने प्रयास भएन,” उनले बताए ।

    कुलमान घिसिङ पक्षले रास्वपामा वरिष्ठ उपसभापतिको व्यवस्था गर्नुपर्ने र पार्टीको नाम परिवर्तनसम्बन्धी विषय आगामी महाधिवेशनमा लैजानुपर्ने प्रस्ताव राखेको थियो । तर, उक्त प्रस्ताव रास्वपा नेतृत्वले स्वीकार नगरेको उज्यालो नेपाल पक्षको दाबी छ ।

    यसअघि ऊर्जामन्त्री पदबाट राजीनामा दिएपछि कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक सघन भेटवार्ता गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij