लोकगायक विष्णु खत्रीले आफू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू अब कहिल्यै प्रतिष्ठानको ढोका ढक्ढकाउन नआउने निर्णय गरेको घोषणा गरेका हुन् ।
लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा गायक खत्रीले आफू संस्थाबाट बाहिरिएको घोषणा गरेका हुन् ।
संस्थागत सिकाई र अनुभवको आधारमा कलाकारहरूको हक हितका लागि केही गर्ने खोँचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिए पनि आफ्नो योजनामाथि वज्रपात भएको उनले बताएका छन् ।
प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रहेका गायक खत्री बद्री पंगेनी, चन्द्र शर्मा र हालका अध्यक्ष रमेश बिजीसँग अध्यक्ष पदमा पराजित भएका थिए ।
‘उमेरको उर्जाशिल समय संस्थालाई हुर्काउन, बढाउनकै निम्ति, घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक, भौतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकोले पनि एकचोटी संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केही गर्ने दृढ सोंच संकल्प र अठोट लिएको थिएँ’ उनले लेखेका छन्, ‘तर मेरो उक्त योजनामाथि वज्रपात हुन पुग्यो ।’
गायक खत्रीले यस पाली अग्रज कलाकारबाट नेतृत्वमा आउन आफूप्रति केही सद्भाव रहन्छ की भन्ने झिँनो आशा राखे पनि त्यो नभएको गुनासो गरेका छन् ।
‘न त अनुजले नै अग्रजको सम्मान गरेर भुमिका दिने कुनै मनसाय देखियो । संस्थाको नाराले मलाई नै गिज्याएको अनुभूति भयो’ उनले भनेका छन्, ‘अब फेरि अनुज भाइबहिनीसँग चुनावी प्रतिस्पर्धामा होमिनु शोभनिय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याई छ ।’
उनले सांगठनिक र भावनात्मक रुपले संस्थाको यात्रामा पूर्णविराम लगाएको उल्लेख गरेका छन् । अगाडि लेखेका छन्, ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढक्ढकाउन नआउने निर्णय गरी आजैका मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु ।’
गायक खत्री यति बेला गीतसंगीत सम्बन्धी नयाँ संस्था खोल्ने तयारीमा छन् ।
यस्तो छ गायक खत्रीको स्टाटस