काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो।
बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको छ।
राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न अनेम संघले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई समेत ज्ञापनपत्र बुझाएका थिए। उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए।
अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्। उनीहरुले प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाइरहेका छन्।
झाँक्रीले गोरखाको कार्यक्रममा भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु : निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’
बुधबार विरोध सभामा पनि राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदा आलोचना भएको भन्दै झाँक्रीले आक्रोश समेत व्यक्त गरेकी थिइन्। उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन्।
उनले भनिन्, ‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’
‘त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ। एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ,’ उनले भनिन्।