काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँले बढी हो।
आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदी २ सय ५ रुपैयाँ महँगिएको हो। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रतिऔंस ४ हजार ५ सय ५० अमेरिकी डलर नाघेको छ भने चाँदी प्रतिऔंस ८३ डलरभन्दा माथि पुगेको छ। एक औंस बराबर २.४३ तोला हुने भएकाले अन्तर्राष्ट्रिय मूल्य वृद्धिले नेपाली बजारमा सीधै प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय स्तरमा बढ्दो राजनीतिक र सैन्य तनाव नै सुन र चाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो। “जहिले पनि विश्वव्यापी तनाव वा द्वन्द्व बढ्दा सुरक्षित लगानीका रूपमा सुन र चाँदीतर्फ आकर्षण बढ्छ, अहिले पनि त्यही अवस्था देखिएको छ,” उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधि र अभिव्यक्तिले विभिन्न मुलुकबीच तनाव बढेको उल्लेख गर्दै उनले हालैका घटनाक्रमले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता सिर्जना गरेको बताए।
भेनेजुएला, इरान, ग्रिनल्यान्डलगायत मुलुकप्रति अमेरिकाको कडा चेतावनी तथा रुसबाट तेल खरिद गर्ने मुलुकहरूलाई ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनीले द्वन्द्वको जोखिम बढाएको उनको भनाइ छ। यस प्रकारको अनिश्चित अवस्थाले केन्द्रीय बैंक र लगानीकर्तालाई सुन र चाँदीमा लगानी बढाउन प्रेरित गरेको छ।
माग बढेसँगै अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य उकालो लागेको र त्यसको असर नेपाली बजारमा समेत देखिएको बज्राचार्यले बताए।