चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग सुदूरपश्चिम भ्रमणमा रहेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
शुक्रबार बिहान अछामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि भएको हो। अवस्था हाल स्थिर भए पनि गम्भीर रहेको जनाइएको छ।
४३ वर्षीय सिटौला बझाङबाट अछामतर्फ जाने क्रममा गाडीबाट ओर्लिँदा लडेर टाउकोमा चोट लागेपछि बेहोस भएका थिए। प्रारम्भिक उपचार अछाम जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई काठमाडौँ ल्याइएको हो।
नुवाकोट स्थायी घर भएका सिटौला चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्षसमेत हुन्।