काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १ करोड ४२ लाख ८ हजार थान मतपत्र छापिएको छ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ गरिएको हो। निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।
त्यसैगरी, हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको छ। पछिल्लो २४ घण्टामा मात्र १ हजार २२६ बाकस मतपत्र प्याकिङ गरिएको जानकारी केन्द्रले दिएको छ।
केन्द्रले निर्वाचन आयोगलाई १ करोड ९८ हजार २०० थान नमूना मतपत्र पनि पठाइसकेको जनाएको छ। मतपत्र छपाइ र प्याकिङ कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ।