Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

सामाजिक सञ्जालभरी ‘लत’ बसाइदिने तिलकसिंह पेला को हुन् ?

सामाजिक सञ्जालभरी ‘लत’ बसाइदिने तिलकसिंह पेला को हुन् ?

  • माघ ८, २०७९ आइतवार
  • ००:३८:०७ बजे
  • 1.0K
    SHARES
  • सामाजिक सञ्जालभरी ‘लत’ बसाइदिने तिलकसिंह पेला को हुन् ?

    काठमाडौं । अहिले के लत बस्यो मलाई।’ खुबै चर्चामा छ । ‘पानी परेर धर्ती, आकाश हुन्छ सुन्दर, धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ।

    के लत बस्यो मलाई।’ लाईन त झनै भाइरल छ । जुनगीतका गायक तिलकसिंह पेला हुन् । उनी २३ वर्षको उमेरमा २०५५ तिर रहरै रहरमा एकल गीति एल्बम ‘आँसु’ निकाले ।

    त्यो बेला नै उनको एल्बम हिट भयो। अहिलेजस्तो पाइरेसी भइहाल्ने जमाना थिएन। एल्बमका चक्का बिकेको आधारमा आम्दानी हुन्थ्यो। पैसा पनि राम्रै आयो पहिलो एल्बमबाटै। अल्लारे उमेरमा उनले अल्लारे पाराकै गीति एल्बम निकालेका थिए।

    त्यसपछि पेला कता हराए कता। २४ वर्षपछि उनै पेला अहिले सामाजिक सञ्जालमा भाइरल छन् अझ विशेष टिकटकमा। ‘तिलकपेला सङ’ भनेर सर्च गर्ने हो भने उनको पाँच दिनअघि रिलिज भएको गजलमा लाखौं बढिले ह्यासट्याग प्रयोग गरेको भेटिन्छ।

    उनले गाएको गजलको ‘साथी रहेछ दुख हरपल सवार हुन्छ, सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छन्’ अनि ‘के लत बस्यो मलाई, कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ’ भन्ने लाइन प्राय नेपाली टिकटक युजरले प्रयोग मात्र गरिरहेका छैनन् भुतुक्कै भइयो भन्ने त कति–कति।

    १३ हजार सब्सक्राइबर भएको आफ्नै युट्युब च्यानल ‘तिलक सिंह पेला’ मा उनले आफ्नो नयाँ गजल केही दिनअघि अपलोड गरेका थिए। उनको गीत केही दिनमा लाखौं पटक हेरिसकेका छन्। सामान्य छ म्युजिक भिडियो। हज्जारौ प्रतिक्रिया आइसकेको छ भने हज्जारौ लाइक गरेका छन्।

    संगीत शिक्षालय खोलेर आफ्नै तालमा जीवन बिताइरहेका उनको निवासअघि अहिले सञ्चारकर्मीहरूको ताँती छ अन्तर्वार्ता लिन। भ्याइ–नभ्याइ छ उनलाई आफ्नो जीवन कहानी खुलाउन।

    साँच्चिकै फिल्मी छ उनको संगीतयात्रा। २०३२ सालमा बैतडीमा जन्मिएका तिलकको परिवार फौजी। परिवारमा संगीतको माहोल थिएन तर उनका दाजु श्रीकृष्णसिंह पेला भने गीत लेख्न रुचाउँथे। दाइले लेखेको गीत गाएर नै उनले पहिलो एल्बम निकालेका रहेछन्।

    उनको गाउँघरमा हुने रामलीलामा भारतबाट शास्त्रीय संगीतका गुरूहरू आएर गाउँथे अनि सिकाउँथे पनि। स्कुलका कार्यक्रमहरूमा गीत गाउने गर्थे। रामलीलाको गीति नाटकमा गीतमार्फत अभिनय गर्ने मौका पनि पाए।

    त्यति बेलादेखि नै उनलाई हार्मोनियमको धुनले छुन थाल्यो। आफ्नै दाइले पनि संगीतप्रति चाख बढाउन ठूलो भूमिका खेले। उनलाई गाउन नआए पनि दाइले ‘यो गीत यसरी गाउनुपर्छ, यहाँ गल्ती भयो’ भन्दै सिकाए।

    एसएलसी दिएर काठमाडौं आएका उनी त्यसपछि औपचारिक शिक्षातिर फर्किएनन्। उनी एसएलसीमा उत्तीर्ण हुन सकेनन्।

    ‘मैले संगीतको भोकले पढ्न चाहिनँ। एसएलसीमा फेल भएको विद्यार्थी थिए। तर अहिले सम्झँदा लाग्छ म त्यो बेला असफल भएको रहेनछु। पढेको भए बरु म हाकिम हुन्थे होला, भ्रष्ट्राचारमा पो मुछिन्थे कि ?’, उनले भने।

    पहिलो आधुनिक गीति एल्बम सफल भए पनि उनी सन्तुष्ट भने भएनन्। संगीत त सिक्ने कुरा हो, रहरमा गाएर मात्र हुन्न भनेर उनी गुरु खोज्न थाले। चार वर्ष काठमाडौंमा गुरु खोज्दैमा भौँतारिएका उनले बल्ल धनबहादुर गोपाली भेटे।

    गोपालीसँग १० वर्ष शास्त्रीय संगीत सिके। तै पनि उनको भोक मेटिएन। अनि लागे शास्त्रीय संगीतको खानी मानिने भारतको बनारस। बनारसमा उनले गुरु भेटे पण्डित देवासिस गिरी। उनीसँग संगीत सिकेपछि मात्र उनी नेपाल फर्किए।

    नेपाल फर्किएर पनि उनी संगीत साधनामै मग्न भए। घर खर्च जोहो गर्न संगीत पाठशाला खोलेर सिकाउन थाले। संगीत पाठशाला खोल्दा आफ्नो अभ्यास पनि हुने अनि आफ्नो ज्ञान पनि बाँड्न सकिने।

    उनको गजबको बानी के भने उनी कहिल्यै अर्काको गीत गाउँदैनन्। ओशो अनुयायी रहेका उनको विहानी शास्त्रीय संगीतको अभ्यासबाटै सुरू हुन्छ। दिनभरको उनको काम संगीत सिकाउनैमा बित्छ। बेलुका एक घण्टा ओशोको प्रवचन सुन्छन् र सुत्छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij